समानुपातिक व्यवस्था हटाइएन भने देश बर्बाद हुन्छ

मीनबहादुर पण्डित

सत्तामा जानका लागि देश र जनतालार्इ घात–अंतरघात गर्नेहरुलार्इ अबको चुनाबमा जनताले १००५ पाखा लगाउने छन् । किनकि जनताले राष्ट्रघाती नेताहरु राम्ररी चिनिसके । तर, तिनै चुनाब हारेका नेताहरु समानुपातिकबाट सांसद बनेर पुनः संसदमा आउने छन् । फेरि पनि बिभिन्न जालझेल गरेर सत्ता परिबर्तनको खेलमा लाग्नेछन् ।

त्यसो हुँदा देशमा सधैभरि अस्थिरता छाइ रहनेछ । पिछडिएका जाति र बर्गका नाममा समानुपातिकको कोटा राख्नु घातक हुन्छ । चुनाब हारे पनि समानुपातिकबाट सांसद बनाउने अधिकार पार्टी अध्यक्षको हातमा हुन्छ वा भनौ तिनै पुराना चुनाब हारेका नेताहरुको हातमा हुन्छ । समानुपातिकबाट सांसद बन्न पाउने चलन अब अनिबार्य हटाउनु पर्छ । ठीकै छ संविधानसभाको लागि समानुपातिकबाट सांसद नियुक्त गरिने व्यवस्था बनायौ । अब संविधान बनि सक्यो, । अब समानुपातिक व्यवस्था राख्नुको कुनै अर्थ छैन । हटाउने सहमति गर्न कुनै पार्टी मान्दैन भने त्यो देश र जनताप्रति धोका हो । प्रजात्रन्त्रको उपहास हो । जनताको बिश्वास नभएको नेता घुमाउरो बाटोबाट संसदमा प्रवेश गर्नु भनेको राजनीतिक बेमानी नै हो ।

बिगतमा समानुपातिकका नाममा श्रीमती, आफन्त र नजिकका मान्छेलाई सांसद नियुक्त गरिएको उदाहरण हामीसंग छदैँछ । त्यति मात्र कहाँ हो र ? गोल्छा र ल्यहारकाल लामा जस्तालाई सांसद पद करोडौ लिएर बेचिएका चर्चा पनि चलेकै हुन् । अब पनि त्यस्तो नहोला भनेर कसरी विश्वास गर्न सकिन्छ ?

समानुपातिक नहटाउने हो भने चुनाब हारेका, भ्रष्ट, असक्षम र देशद्रोहीहरु सधै सत्ता र शक्तिमा रहने छन् । कमसेकम चुनाब हारेकाहरू मन्त्री हुन् नपाइने नियम त बनाइयोस । अथवा प्रतिनिधि सभामा समानुपातिकबाट सांसद नियुक्त गर्न नपाइने तर राष्टि«य सभामा मात्र पाइने नियम हुनु पर्छ र राष्टि«य सभामा हुनेहरुले मन्त्री बन्न नपाइने नियम बनाइनु पर्छ । देशमा राजनीतिक जालझेल गरेर सत्तामा जाने बाताबरण भत्किन्छ । देशमा स्थिरता ल्याउने अरु कुनै उपाए छैन । किनकि नेपाली राजनीतिका पात्र र प्रबृति तिनै पुराना नेताहरु नै हुन् । जसलाई देश बिकास गर्ने ज्ञान नभए पनि, कसरी सत्तामा जान सकिन्छ र कसरी सरकार गिराउन सकिन्छ आदि कुराको राम्रो ज्ञान छ ।

नेपाल जस्तो सानो देशमा १० वटाभन्दा धेरै पार्टीको कुनै आवश्यकता छैन । बैंक मर्ज भए जस्तो पार्टीहरु मर्ज हुनु पर्दछ । हामीले समानुपातिक व्यवस्था हटाउन सकेनौ भने १२५ वटाभन्दा धेरै राजनीतिक पार्टीहरु सधै अस्तित्वमा रहिरहने छन् । १ प्रतिशत भोट ल्याउने पार्टीको भागमा पनि सांसद निक्युक्त गर्न सक्ने बाताबरण हुन्छ । धेरै थरि पार्टी धेरै थरि विचार अनि धेरै थरि माग र धेरै थरि बखेडा हुन्छ । नेपालभरि भएका पार्टीहरुको बिचार कम्तिमा ३ भागमा बाँडियोस न कि १० भागमा । बहुमतीय प्रणाली ठीक हो भने समानुपातिक व्यवस्था खारेज गर्नुको बिकल्प छैन । हो, अल्पमतको बिचारको पनि कदर गरिनु पर्छ । समानुपातिकका नाममा चुनाब हारेका र अल्पमतमा परेकाहरुले शासन गर्ने बाताबरण भने बन्नु हुँदैन ।


लेखक

बहुमत जनताको भावनाको कदर गर्नु नै प्रजात्रन्त्रको सुन्दरता हो । देशको प्रगति र उन्नतिको मार्ग चित्र बन्ने आधार पनि यहि हो । अब छलकपटको राजनीति होइन परिणाममुखी राजनीति गरिनु पर्दछ । किनकि अब जनताले कसले के बोल्यो भन्ने आधारमा होइन कसले के काम गरेको छ भन्ने आधारमा मात्र भोट दिने छन् ।

जनतालाई अब करदाता र मतदाता मात्र बनाउने दिन गए । राजनीति भनेको समाज सेवा हो । टन्न कमाउने र मोटाउने धन्द होइन । राजनीतिमा टिकीरहने हो भने, देश र जनताका भाबनाअनुसार परिणाममुखी काम गर्नु पर्दछ । जालझेल गरेर सधैभरि सत्तामा पुग्न सकिन्न । यदि पुगीहाले पनि धेरै दिन सत्तामा टिक्न सकिन्न ।

नेता भनेको त देशको अभिभाबकको भूमिका निर्बाह गर्न सक्ने किसिमको हुनु पर्दछ । मेरो जिम्मेबारी के हो ? मेरो कर्तब्य के हो ? म कति इमान्दार हुनु पर्छ ? भन्ने बुझेको व्यक्ति हुनु पर्दछ । सधैभरि जनताको आलोचना र गाली मात्र खाएर नेता बन्नुको पनि कुनै अर्थ छ र ?

अब संविधानमा २५ जनाभन्दा धेरै मन्त्रिपरिषद बनाउन नपाइने व्यवस्था राख्नु पर्छ । २ जनाभन्दा धेरै उपप्रध्नानमन्त्री राख्न्न नपाइने नियम हुनु पर्दछ । किनकि तिनीहरुको सेवा र सुबिधा देशले धान्न सक्दैन । अनि अमेरिका र चीनमा जस्तो २ पटकभन्दा धेरै प्रध्नानमन्त्री र राष्टपति बन्न नपाइने नियम हुनु पर्दछ ।

बल्ल असक्षमहरुको बैरगमनको बाटो खुल्नेछ । राजनीतिक पार्टीहरुमा पनि २ कार्यकालभन्दा धेरै अध्यक्ष हुन् नपाइने परिपाठी हुनु पर्दछ । बल्ल पार्टीमा सक्षम र युवा नेतृत्वले ठाउँ पाउने छन् । पार्टी नेतृत्व सक्षम भएमात्रै पार्टी राम्रोसंग चल्छन् । पार्टी हाक्ने नेताहरुले नै देश हाक्ने हुँनाले देश पनि राम्रोसंग चल्छ । शारीरिक र मानसिक रुपले असक्षम व्यक्तिले देश चलाई रहने हो भने देश बन्न सक्ला र ?