‘अब राजासहितको लोकतन्त्र’

७ फागुन, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा अब वैधानिक रूपमा राजासहितको लोकतन्त्र स्थापना गर्ने घोषणा गरेको छ । राजधानीमा शुक्रबार आयोजित एकता महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पदका प्रत्यासी कमल थापाले भने, ‘अहिले मुलुकमा गणतन्त्र स्थापना भएको छ । संविधानसभाको दुई तिहाइभन्दा बढीले पारित गरेको अहिलेको संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । हामी निर्वाचनमार्फत संसद्मा हैसियत बनाएर मुलुकमा राजासहितको लोकतन्त्र कायम गर्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ संकेत गर्दै थापाले भने, ‘तपार्इं बेला-बेलामा चमत्कार गर्नुहुन्छ, अब यो कार्यमा पनि तपार्इं-हामी मिलेर चमत्कार गरौं ।’ उनले मुलुकमा चुनावी राजनीति भन्दामाथि रहने सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापनाको आवश्यकता भएको बताए । थापाले नेपालको इतिहासमा लामो समय योगदान पुर्‍याएको संस्थाको सदुपयोग गर्न पनि आग्रह गरे ।


आफूले प्रधानमन्त्री दाहालसँग छलफल र काम गर्दा प्रधानमन्त्री आफूनिकट भएको अनुभूति हुने गरेको र यसका लागि राष्ट्रियताको मुद्दाले काम गरेको थापाको धारणा छ । अहिलेको परिवर्तनकारी शक्ति र राजसंस्थावादी शक्ति एकअर्कासँग टाढा नहुन अग्रह गर्दै उनले भने, ‘अब राजसंस्थावादी शक्ति गणतन्त्रवादीसँग नतर्स, गणतन्त्रवादी शक्ति राजसंस्थासँग नझस्क ।’

संविधान संशोधन गरेर मधेसवादी शक्तिका माग सम्बोधन गरिने भनिए पनि अहिले दर्ता भएको प्रस्तावको पक्षमा राप्रपा नभएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न माग गर्दै त्यसो गरे सबैभन्दा पहिला आफ्नो पार्टीले स्वागत गर्ने घोषणा गरे । महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले कुनै आवेग र उत्तेजनामा निर्णय गर्ने पार्टी नभएको भन्दै राप्रपाको प्रशंसा गरे ।

‘संविधान जारी गर्दा राप्रपा र हामीबीच केही कुरामा मतभेद थिए तर राप्रपाले निर्वाह गरेको भूमिकापछि मलाई लाग्यो, अनुभवी र पाका नेताको सुझबुझपूर्ण निर्णय थियो’, उनले भने । संविधान कार्यान्वयन नभए देश राजनीतिक दुर्घटनामा पर्ने भएकाले त्यसलाई जोगाउने गरी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीले राप्रपा नेतृत्वसँग आग्रह गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ