संविधान संशोधन नगरी चुनावको मिति घोषणा भए आन्दोलनमा जाने महतोको चेतावनी

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेर चुनाबी मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताएका छन् ।


भेटमा प्रधानमन्त्री दाहालले चुनाब र संविधान संशोधनलाई साथ साथै अघि बढाउने आश्वासन दिएका थिए भने महतोले संशोधन नगरी कुनै चुनाब हुन नसक्ने भन्दै मिति घोषणा भएकै दिन आन्दोलनको घोषणा गर्न बाध्य हुने बताएका छन्।

प्रधानमन्त्रीले बिहिबार मोर्चाका अन्य नेताहरुलाई एक्लाएक्लै भेट गरी चुनाब लागि मनाउने प्रयास गरेका छन्। उनले आगामी शनिबार संयुक्त रुपमा मोर्चासँग बैठक गर्ने तयारी गरेको बताइएको छ। शनिबारको बैठकपछि मोर्चाले आफ्नो रणनीति तयार गर्ने महतोले जानकारी दिए। सरकारको नियत जालझेल गर्ने देखियो। संशोधनमा अगाडि बढाउन सरकारले चाहेको छैन, उनले भने।

भारतले जस्तै संविधानप्रति मधेसी मोर्चाले पनि असन्तुष्टि जनाउँदै आएको छ। त्यसलाई सम्बोधन गर्न सरकारले सदनमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। एमाले सहितका दल संशोधनको विरुद्धमा रहँदा सो प्रस्ताव यता न उताको अवस्थामा छ।news24nepal.tv