भारतलाई चेतावनी दिदैं चीनले भन्यो– ‘आगोसँग नखेल’

बेइजिङ, फागुन ५ । चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । उसले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ ।


                                          फाइल तस्वीर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ

ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले कडा आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भने, ‘हामीलाई विश्वास छ, भारतले चीनको चासो र चिन्तालाई बुझ्ने छ ।’ भारत ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहने र ताइवानसँग सम्बन्धित विषयलाई समझदारीमा अघि बढाउने अपेक्षा चीनले गरेको पनि उनले बताए । यसबाट नै भारत र चीनबीचको सम्बन्ध सुमधुर हुने उनको भनाइ थियो ।

उनले भने, ‘भारत भ्रमण गर्नेहरु ताइवानका कथित जनप्रतिनिधि हुन्, चीनले आफ्नो कुटनीतिक सम्बन्ध भएका मुलुकले ताइवानसँग आधिकारिक सम्पर्क गरेको विषयलाई सदा विरोध गर्दछ ।’

यसअघि चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ ले ‘ताइवान कार्ड’ खेल्नु भारतका लागि ‘आगोसँग खेल्नु’ जस्तै भएको बताएको थियो ।

‘केही भारतीय रणनीतिकारले मोदी सरकारलाई ताइवान कार्ड खेल्न सुझाव दिएका छन् ताकि ‘एक चीन’ नीतिप्रति प्रतिवद्धताको सट्टामा चीन पनि ‘एक भारत’ नीतिमा चलोस्, ताइवानको सवालमा चीनलाई चुनौती दिएर भारतले आगोसँग खेल्ने काम गर्दैछ,’ सो अखबारमा प्रकाशित लेखमा भनिएको छ । (एजेन्सी)