म पहिलादेखि नै हिरो हो, हिरोको श्रीमतीलाई हिरोइन भनेको जस्तो लाग्छ : रेखा थापा (भिडियो सहित)

काठमाडौँ । निर्माता छविराज ओझासँग बिहे गरेर लामो समय सँगै बसेकी रेखा थापा अहिले एक्लै बस्दै आएकी छन् । छविसँग रेखाको कानुनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ । हालै ३३ औं जन्मदिन मनाएकी रेखा बल्ल आफूले विवाहबारे बुझेको बताउँछिन् ।

आफ्नो भावी जीवन र अभिनयबारे रेखा भन्छिन्
मेरो बल्ल विवाह गर्ने उमेर भयो । ममा घरपरिवार सम्हाल्न सक्ने क्षमताको वृद्धि भयो । यिनीहरू पनि मेरा आफ्ना हुन्, यिनीहरूलाई मैले सम्मान गर्नुपर्छ भन्ने सोचमा ममा आएको छ । अब म बिहेका लागि तयार भएकी छु । हिजो के भयो, त्यो मेरो जिन्दगीको दुर्घटना थियो । लेखान्त थियो । मिठो या नमिठो सपना थियो । त्यो समयमा म पूर्ण भइसकेको थिइनँ ।
१६–१७ वर्षको उमेर अहिले सम्झिँदा माया लाग्छ ।


म ५–६ वर्षदेखि सिंगल छु । मलाई लाखौँ युवाहरूले माया गरिदिनुभएको छ । तर प्रेमीको रूपमा मेरो जीवनमा अहिले कोही छैनन् । र, म चाहन्छु मेरो नि कोही प्रेमी भइदियोस् । अहिलेसम्म म आफ्नो योजनामा व्यस्त थिएँ । अब म प्रेम र विवाहका लागि तयार भएँ कि भन्ने लागिरहेको छ । म प्रेमीको खोजीमा छु । घरमा कुरा आइरहेको छ । तर कसको के मिल्दैन, कसको के । मलाई सम्पत्ति होइन, खुसी चाहिएको छ ।

मलाई साँच्चिकै पुरुष चाहिएको छ
मलाई बिहे गर्न आउने पुरुष साँच्चिकै पुरुष चाहियो । पुरुषको खोल ओढेर आउने होइन । समाजलाई माया गर्ने । नारीको सम्मान गर्ने । नारीको इच्छा बुुझ्ने होस् । नारीलाई पुज्ने र देशलाई माया गर्ने पुरुष चाहिएको छ । मलाई कृष्ण जस्तो पुरुष भए पनि हुन्छ, तर म राधा होइन, रुक्मणी बन्न चाहन्छु । राधा सधंै आधा हुन्छन् । मलाई विकट ठाउँमा बसेको खेती किसान गरेको भए नि हुन्छ । विकसित ठाउँमा बसेको धनी व्यक्ति चाहिँदैन । मलाई पैसा होइन, खुसी चाहिएको छ ।

१५ वर्षबाटै आत्मनिर्भर
म १५ वर्षको उमेरबाटै आत्मानिरर्भर छु, तर पनि मलाई भूकम्प आएको बेला मेरो बुवाको याद आएको थियो । मैले मेरो आमालाई हेर्नुपर्ने थियो, यदि मेरो बुवा यो संसारमा हुनु भइदिएको भए म पनि अरु जसरी बुवा भन्दै रुन्थें होला । त्यसैले लाग्छ, यो संसारमा भगवानले महिला पुरुषलाई बराबर रूपमा सृष्टि गरेका हुन् ।

हाम्रो समाजमा महिला पुरुष बराबर छन् । तर यही समाजमा पनि त्यस्ता पुरुष छन्, जसका कारण बलात्कारको समाचार सुन्छौं, आफ्नो श्रीमतीलाई कुटेको देख्छौं, परस्त्रीसँग लागेको देख्छौं । आफ्नो स्वार्थका लागि महिलालाई कमजोर बनाउने यस्तो पुरुष पनि देखेको छु मैले समाजमा । नजिकबाट र भागेको पनि छु । त्यसबाट माथि आउन सर्वप्रथम मुटुु चाहिन्छ ।

म पहिलादेखि नै हिरो हो
म पहिलादेखि नै हिरो हो । हिरोको श्रीमतीलाई हिरोइन भनेको जस्तो लाग्छ । जो लिड रोलमा छ, त्यही नै हिरो हो । म निर्देशक पनि हो, निर्माता पनि हो अब मलाइ के भन्ने ? त्यो पदलाई छुट्याउन सकिन्न । यदि म वकिल हुन्थें भने के मलाई वकिल्नी भन्ने ?

आखिर म पनि नारी नै हो । ममा पनि नारीमा हुने त्यो लाजको गहना छ । तर मैले निभाउने भूमिकाले मेरा दिदीबहिनीप्रति ऊर्जा मिल्छ । केही गर्नुपर्छ भन्ने भावना आउँछ । मसँग आत्मविश्वास भए पनि कुनै पुरुषसँग आफ्नो गल्ती छैन भने प्रतिकार गर्न सक्दिनँ ।

महिलालाई अझ बढी जागरुक गराउन, हामी कामकाजी महिला आत्मनिर्भर बनाउन, नेपाली नारी कस्तो हुनुपर्छ, बाहिर पनि काम गर्न सक्छे, देश पनि हाँक्न सक्छे, त्यसको साथै आफ्नो घरपरिवारलाई पनि खुसी राख्न सक्छे भन्ने कथावस्तुमा चलचित्र निर्माण गर्दैछु ।

हिरो रिटन्र्समा मेरो पात्रले दिने सन्देश हाम्रो समाजमा छोरी मान्छेले स्वतन्त्र रूपमा आफूले चाहेको मान्छेसँग विवाह गर्न किन सकिरहेका छैनन् ? परिवारको कुरा सुनेर कसरी कुण्ठित भएर बस्नुपरेको छ ? छोरी पनि विद्रोही भएर परिवारलाई सम्झाउन सक्छे भन्ने क्षमता हुनुपर्छ भन्ने खालको सन्देशमूलक छ ।
प्रस्तुति :- वर्षा बस्नेत