शिल्पाले खोलिन् प्रेम रहस्य

फाल्गुन ७, २०७३-
अभिनेत्री शिल्पा पोखरेल तथा निर्माता छवि ओझाले आफूबीचको सम्बन्धका बारेमा हालसम्म औपचारिक रूपमा मुख खोल्न सकेका छैनन् । गएको दसैंमै दुवैले विवाह गर्ने हल्लासमेत नचलेको होइन, तर विविध कारणले उनीहरू वैवाहिक जीवनमा बाँधिएनन् । पछिल्लो समय छविले निर्माण गर्ने सबै चलचित्रमा शिल्पा मुख्य भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् ।



छायांकनका क्रममा रहेको छविको चलचित्र ‘मंगलम’ मा त शिल्पा निर्मात्रीकै रूपमा सहभागी छिन् । एक–अर्काको सम्बन्धका बारेमा जिज्ञासा राख्दा उनीहरूले प्राय: टालटुले जवाफ दिँदै आएका छन् । यसबीच भ्यालेन्टाइन डेको अवसर पारेर शिल्पा पोखरेलले निर्माता ओझालाई आफ्नो प्रेमीका रूपमा सार्वजनिक गरेकी छिन् । मंगलबार बिहानै फेसबुकमा शिल्पाले छविसँगको तस्बिर अपलोड गर्दै लेखेकी छिन्— ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ।



शिल्पाको उक्त स्टाटसले धेरै प्रश्नको जवाफ दिएको छ । प्रेम दिवसका अवसरमा शिल्पाले आफ्नो जोडीको तस्बिर सार्वजनिक गरेलगत्तै अब उनीहरूको सम्बन्धले औपचारिक रूप प्राप्त गर्ने बाटो खोलेको अनुमानसमेत गरिएको छ ।